149. Gurung Buddhism Prepared by ICGB, USA:

गुरुङ बुद्धिजम भनेको गुरुङहरुको सनातनदेखि चलि आएको परम्परागत मौलिक संस्कारको अभ्यास र बौद्ध दर्शनको उत्कृष्ट सूत्र बाचन गरी जीबन संस्कार गर्ने छोटो मिठो, सजिलो र भरपर्दो प्रणालि हो । बुद्धबचन भनेको सत्य बचन हो । सत्य बचन भनेको समय हो । तर समय गतिशील हुन्छ । त्यसैले बिहानको समय दिउसोको समय र बेलुकीको समयमा पनि एकनास हुदैन । तथागत बुद्धले यसैलाई अनित्यवाद भन्नु भएको छ ।
बुद्धबचन जुन जुन ठाउँमा पुगेको छ, त्यहाँको स्थानीय धरातल, हावापानी, माटो, सामाजिक बनावट जनजीवनको इच्छा आकांक्ष र आवश्यकता अनुसार आफुलाई प्रवाह गर्न सक्षम भएको हुनाले तिब्बतमा पुगेपछि तिब्बतीयन बुद्धिजम, चीनमा चाइनीज बुद्धिजम मंगोलियामा मंगोलियन बुद्धिजम, जापानमा जापानीज बुद्धिजम, कोरियामा कोरियन बुद्धिजम, थाइलैन्डमा थाइ बुद्धिजम, बर्मामा बर्मिज बुद्धिजम, भेतनाममा भेतनामी बुद्धिजम, कम्बोडियामा कम्बोडियन बुद्धिजम लावसमा लावसियन बुद्धिजम, श्रीलंकामा लंकाली बुद्धिजम भूटानमा भूटानी बुद्धिजम, सिक्किममा सिक्किमी बुद्धिजम नेपालमा नेपाली बुद्धिजम, नेवारी समुदायमा नेवारी बुद्धिजमको नामबाट अभ्यास गरिन्छ ।
यसैगरी गुरुङ जातिको परम्परागत जीवन पद्धति र मौलिक संस्कारको आधारमा अभ्यास गरिने बुद्धिजमलाई “गुरुङ बुद्धिजम” भनिन्छ । संस्कारको हकमा सनातनदेखि चलि आएको परम्परागत मुल्य र मान्यताको आधारमा चलि आएको मौलिक संस्कारको अभ्यास गरिन्छ भने, दर्शनको हकमा बुद्धदर्शनको सूत्रपाठ गरिन्छ । समग्रमा भन्नु पर्दा, “गुरुङ बुद्धिजम” भनेको गुरुङको मौलिक संस्कारको अभ्यास गरी बौद्धदर्शनको सूत्रपाठ गर्ने उत्कृष्ट प्रणलि हो । यसलाई सही ढंगले अभ्यास गर्न सकेमा छोटो, मिठो र सजिलो तरिकाले मुक्ति पाउन सकिन्छ । मुक्ति भनेको निर्वाण हो । निर्वाण भनेको शून्यता हो । तपाइँले कस्तो खालको शून्यता लिने हो ? यो कुरा तपाइँ आफैमा भर पर्ने कुरा हो । यसका लागि मन, बचन र कर्मद्वारा साधना गरी अनुभव गर्नु पर्छ ।
बुद्धबचनमा बस्तुवाद र हेतुवाद गरी दुइवटा मार्गहरू छन् । बस्तुवाद भनेको जीवन पद्धति हो । यसमा केमेइस्ट्रीको महत्वपूर्ण स्थान हुन्छ । अर्थात् मात्रालाई प्राथमिकता दिइन्छ । जस्तैः तरकारी पकाउँनका लागि आवश्यक पर्ने नुन, तेल, मसला, खुर्सानी, तेजपत्त, अदुवा बेसार, ल्हसुन, हरियो धनियाको पात आदिको मात्रा सही ढंगमा प्रयोग भएको छ भने, तरकारीको स्वाद उत्कृष्ट हुन्छ । उत्कृष्ट बस्तु अमृत समान हुन्छ । अमृत खाए पछि आनन्द हुन्छ । आनन्द भए पछि मनस्थिर हुन्छ । मनस्थिर भए पछि बृत्तिबिकास हुन्छ । यसो भए पछि चारैतिर कीर्ति फैलिन्छ । जीवनमा अमूल परिवर्तन भएको अनुभूति हुन्छ । उन्नति, प्रगति र समृद्धि आफ्नै वरिपरी घुमिरहेको आभास हुन्छ । बस्तुवादको अन्तिम गन्तब्य भनेको समृद्धि हो ।
दोस्रो हो हेतुवाद । हेतुवाद भनेको कार्यकारण सिद्धान्त हो । कारण, परिणाम र उपाए । अर्थात् प्रतित्यसमुत्पाद वा भवसागर हो । यो आश्रित सिद्धान्त हो । यहीबाट बुद्धदर्शन आरम्भ हुन्छ । उदाहरणको लागि एउटा दियोलाई लिउँ । एउटा कोठामा दियो बलिरहेको छ । तर, दियो बाल्नका लागि एउटा दियो मात्र पर्याप्त हुँदैन । यसका लागि कपनी, तेल, बात्ति बाल्नका लागि सलाइ, दियो बल्न सक्ने उपयुक्त वातावरण पर्याप्त अक्सिजन, हावा नचल्ने र वर्ष नहुने आदि वातावरणमा दियो बाल्न सकिन्छ । अनि मात्र दियोबाट प्रकाश उत्पन्न हुन्छ । यो प्रकृयालाई हेर्दा दियोलाई कारण र प्रकाशलाई कार्यको रुपमा लिन सकिन्छ । अर्थात् एउटा बस्तुको जगमा आर्को बस्तुले अस्तित्व प्राप्त गर्दछन् । यस अर्थमा हेर्दा, कुनै पनि बस्तु स्वतन्त्र छैनन् । सबै परतन्त्र र अनित्य छन् । कार्यकारण सिद्धान्तले यही कुराको पुष्टि गर्दछ ।
बास्तवमा बुद्धदर्शन भनेको मानव जातिको उत्थानका लागि बिज्ञान सम्मत उत्कृष्ट संभावनाहरूको खोजि हो । तथागत गौतम बुद्धले जीवनभर यसैको खोजि गर्नु भयो । उनको खोज, अध्ययन र अनुसन्धानबाट अनुभूत गरेको उत्कृष्ट मार्गमा कराडौँ मानिसहरुले आस्था राख्दछन् । लाखौँ मानिसहरूले गृहत्याग गरी भिक्षु बनेका छन् । तथागत गौतम बुद्धले भनेको मार्ग अनुसार साधना गरी अनुभूति गर्न खोजेका छन् । हजारौँ हजारले श्रोतापन्न भएर अहर्तत्व प्राप्त गरेका छन् । निर्वाणमा पुगेर पनि प्रज्ञामा बसेका छन् । यो भनाइलाई सरलीकृत गर्न कठिन छ । त्यसैले बौद्धमार्गीहरु आफैले साधना गर्ने प्रयास गर्नुहोला । यदि तपाइँलाई निर्वाण वा मुक्ति चाहिन्छ भने मत होइना मार्ग रोज्नु होला । मत र मार्ग कसरी रोज्ने ? यो तपाइँको चयनमा भर पर्छ ।
संसारका प्रत्येक जात जाति र समुदायको आ–आफ्नै भाषा संस्कार र संस्कृति छन् । यसैको आधारमा जीवन पद्धति बनेको हुन्छ । जीवन पद्धति चलाउनको लागि संस्कार चाहिन्छ । संस्कारलाई परिशुद्ध गर्न बुद्धदर्शन चाहिन्छ । यसै अनुरुप गुरुङ जातिको जातीय पहिचानलाई समय अनुकुल अभ्यास गर्दै संरक्षण गर्नाका लागि “गुरुङ बुद्धिजम” अपरिहार्य भएकाले यसको रचना गरिएको हो । यो ग्रन्थले गुरुङ जातिको जन्मदेखि मृत्युसम्मको जीवन संस्कारलाई जिवन्त दिन सहयोग हुने कुरामा आशावादी छौँ ।
यो दस्ताबेजमा पुग नपुग भएका बिषय बस्तुहरुमा थप घट गरी यसलाई उपयुक्त हुने बिषय बस्तुहरु चयन गर्न एक दर्जन म्हिक्रेँचोगहरुको नाम सिफारिस गरेका छौँ । प्रस्ताबित दस्ताबेजलाई अध्ययन र अनुसन्धान गरी मार्च ३०, २०२५ सम्म लिखित रुपमा सल्लाह र सुझावहरु प्रस्तुत गर्न हुन हार्दिक अनुरोध गर्दछौँ । भवतु सर्वमंगलम् ।
1BDL Gurung Buddhism… Read more…
Last update: January 02, 2025.

