147. गर्भ सुरक्षा पूजा:
यो गर्भ सुरक्षा पूजा सबै मानव समूदायले गर्दछन् । सबै धर्म, जात, जाती, थर र समूदायले आ–आफ्नै संस्कार अनुसार गर्दछन् । हामीले देख्ने र बुझ्ने फरक भनेकै संस्कार हो । यही संस्कार हाम्रो पहिचान हो । गर्भ सुरक्षा पूजालाई गुरुङ भाषामा ‘गर्भपूजा’ भन्दछ । जब महिलाको पेटको बच्चा सात वा आठ महिना पुगे पछि गर्भमा रहेको बच्चाले पनि आमाले बोलेको र सुनेको कुरा प्रत्यक्ष अनुभव गर्दछन् भन्ने धार्मिक मान्यता रहेको छ । यो संवेदनशील अवस्थाको ध्यानमा राख्दै दुबैको स्वास्थ राम्रो होस् । दुबैको आयु बुद्धि होस् । दुबैको चीरायु होस् । दुबैको दीर्धायु होस् भन्नका लागि गर्भ सुरक्षा पूजा गरिन्छ ।
सबभन्दा पहिले सामग्रीहरु तयार गरिन्छ । तयार गरिने सामग्रीहरुमा एक मानाको भात पकाएर कुल देउताको नाउँमा ‘हिदम’ कैँदु वा तोर्मा बनाउने र थालमा राख्ने । थालको वरपर फलफूलहरु राख्ने । हिदम कैँदुको धाँटीमा पाँचवटा रिपु राख्ने । पाँचवटा रिपुमा एउटा लामो र चारवटा छोटो हुनु पर्छ । एउटा लोटामा चोखोपानी तयार पार्ने । अब सामग्रीहरु तयार पारिसकेपछि महिलाले अनुकुल आसान ग्रहण गर्ने । लम, लामा, आनी, आचार्य, कल्याणमित्र, उपासक र उपासिकाहरु बोलाई गुरुङ बुद्धिजमको आधारमा गर्भ सुरक्षा पूजा गर्ने ।
यति काम भैसकेपछि पुरोहितले सूत्रपाठ गर्दछ । सूत्रपाठ सकिए पछि दीर्घायुका लागि लामो रिपु महिलाको घाँटीमा, दुइवटा हातमा र दुइवटा खुट्टामा बाँधिदिने । यसरी रिपु लगाइ दिए पछि गर्भमा रहेको बच्चा र आमा दुबैको सुरक्षा हुन्छ भन्ने धार्मिक एवं सामाजिक मुल्य र मान्यता रहेकोछ । यो पूजा शुक्लपक्षको समयमा राम्रो दिन बार वा आमाको जन्मबारमा गर्दा उपयुक्त हुन्छ ।
हुन त यो गर्भ सुरक्षा पूजा सबै तह र तप्काका मानिसहरुले गर्न सक्दैनन् । किनभने, यसको गहनता सबैले राम्रारी बुझेका हुदैनन् । किनभने यो गर्भको कुरा त हो नि भन्छन् । यहीनिर त हामीहरु अल्मलिएका छौं । गर्भको बच्चाको सुरक्षा हुन अत्यन्तै महत्वपूर्ण हुन्छ । किनभने बच्चाको लागि आमा र आमाका लागि बच्चा सुरक्षित हुन आवश्यक रहन्छ । त्यसैले, यस विषयमा हामीहरु सबै सचेत हुन आवश्यक छ ।
यति कार्य सकिएपछि हिदम कैँदु काटेर प्रसादका रुपमा खाने र आमन्त्रित इष्टमित्रहरुलाई मिठो मसिनो खाना खुलाएर रमाइलो नाचगान गरी गर्भ सुरक्षा पूजा सम्पन्न गरिन्छ । यही संस्कार अनुसार सबै जात जातीहरुले गर्भ सुरक्षा पूजा गर्न सकिन्छ ।
Read more … 147. Garba Suraksha Pooja...

