146. Nwaran Sanskar Pooja Lifestyle & Sutra.

146. न्वारन संस्कार:

यो न्वारन संस्कार सबै मानव समूदायले गर्दछन् । सबै धर्म, जात, जाती, थर र समूदायले आ–आफ्नै संस्कार अनुसार गर्दछन् । हामीले देख्ने र बुझ्ने फरक भनेको यही हो । न्वारनलाई गुरुङ भाषामा ‘मिँत्यैँब’ भन्दछ । मिँत्यैँबको नेपाली अर्थ नामकरण वा न्वारन भन्ने हुन्छ । हामी मानिसहरु सामाजिक प्राणी भएको हुनाले आपासमा चिनजान गर्नका लागि सबभन्दा पहिले नामबाटै परिचय गरिने भएको हुनाले आमाको कोखबाट जन्मिसकेपछि सर्व प्रथम ‘मिँत्यैँब’ क्रिया हुन्छ । यो क्रियालाई आफ्नो अनुकुलमा तीन वा पाँच दिनमा चोख्याउने गरिन्छ । यो चोख्याउने क्रियालाई नै न्वारन (मिँत्यैँब) भन्दछ ।

सबभन्दा पहिले सामग्रीहरु तयार गरिन्छ । तयार गरिने सामग्रीहरुमा एक मानाको भात पकाएर कुल देउताको नाउँमा ‘हिदम’ कैँदु वा तोर्मा बनाउने र थालमा राख्ने । थालको वरपर फलफूलहरु राख्ने । हिदम कैँदुको धाँटीमा पाँचवटा रिपु राख्ने । एउटा लोटामा चोखोपानी तयार पार्ने । अब सामग्रीहरु तयार पारिसकेपछि बच्चालाई चोखोपानीले नुहाइ दिइ शुद्ध बनाउने । लम, लामा, आनी, आचार्य, कल्याणमित्र, उपासक, उपासिका बोलाई स्वस्ति शान्ति गर्ने । गुरुहरु उपलब्ध हुन नसके घरको मूलीलेनै स्वस्ति बाचन गरी सुनपानी आदि छर्काएर शुद्ध गर्ने ।

यति काम भैसकेपछि पुरोहितले शास्त्रबाट बच्चाको नाम जुराउँछ । नाम जुराएपछि पहिलो पल्ट आमाले जुराएको नामबाट बच्चालाई बोलाउँनु पर्छ । त्यस बखत पुरोहित उपलब्ध हुन नसके उपनाम राखेर पनि बोलाउनु पर्छ । त्यसपछि, सबैले त्यही नामबाट बोलाउनु पर्छ । नामकरणको काम सकिएपछि दीर्घायुका लागि घाँटीमा रिपु, हात खुट्टामा तुनु लगाइदिने र नाक कान छेड्ने काम पनि गर्न सकिन्छ । यति कार्य सकिएपछि हिदम कैँदु काटेर प्रसादका रुपमा खाने र आमन्त्रित इष्टमित्रहरुलाई मिठो मसिनो खाना खुलाएर रमाइलो नाचगान गरी न्वारन ‘मिँत्यैँब’ क्रिया सम्पन्न गरिन्छ । यही संस्कार अनुसार सबै जातीहरुले न्वारन (मिँत्यैँब) गर्न सकिन्छ ।

एकातिर आफ्नो मौलिक परम्परा अनुसार कुल संस्कार गरिरहेको हुन्छ । आकोतिर हाम्रो पुरेहित लम वा लामागुरुले स्वास्ति शान्तिका लागि पूजापाठ गर्दछन् । यो पूजापाठ लम, लामा, आनी, आचार्य, कल्याणमित्र, उपासक, उपासिका वा बुद्धधर्ममा आस्था राख्ने जो कोहीले पनि गर्न सक्दछन् । तर, जसले यो पूजा गर्दछ, उनले पूजाको बिधि बिधानको बारेमा पूर्ण जानकारी हुन आवश्यक हुन्छ । पूजापाठको लागि साधारणतय थालमा कलश स्थापना गर्ने । त्यही थालको वरिपरी फूलपाती र नैवेद राख्ने । धूप र दीप बाल्ने । कलशको मुखमा पाचवटा रिपु रख्ने । बुद्धबचनमा आधारित सूत्रपाठ गर्ने ।

Read more … 146. Nwaran Sanskar Pooja…